काठमाडौं । नेपाली पर्वतारोहण क्षेत्रमा फेरि एकपटक गौरवमय इतिहास रचिएको छ। विश्वप्रसिद्ध नेपाली पर्वतारोही लाक्पा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा (एभरेस्ट) को ११औँ पटक सफल आरोहण गर्दै नयाँ विश्वकीर्तिमान कायम गरेकी छन्। यससँगै उनी सगरमाथाको सबैभन्दा धेरै पटक सफल आरोहण गर्ने विश्वकै पहिलो महिला बनेकी छन्।

आज बिहान करिब ९:३० बजे सगरमाथाको चुचुरोमा पाइला टेक्दै लाक्पाले आफ्नै पुरानो कीर्तिमानलाई तोड्दै नयाँ इतिहास लेखेकी हुन्। विशेष कुरा, उनले यही दिन कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा आरोहण गरेर पुरुषतर्फ नयाँ कीर्तिमान बनाउनु भन्दा ४२ मिनेटअघि आफ्नो सफलता हासिल गरेकी हुन्।

आरोहण व्यवस्थापन गरेको संस्था Seven Summit Treks का अनुसार, लाक्पाको यो उपलब्धि केवल व्यक्तिगत सफलता मात्र नभई नेपाली महिलाको साहस, क्षमता र विश्व पर्वतारोहणमा नेपालको नेतृत्वको प्रतीक हो।

लाक्पाले आफ्नो निरन्तर प्रयास, अदम्य साहस र पर्वतारोहणप्रतिको समर्पणमार्फत विश्वभरका महिला तथा आरोहीहरूलाई प्रेरणा दिँदै आएकी छन्। उनको यो सफलता नेपाली पर्वतारोहण इतिहासमा अर्को स्वर्णिम अध्यायका रूपमा दर्ज भएको छ।

एकै दिन नेपाली पर्वतारोहणका दुई हस्ती लाक्पा शेर्पा र कामिरिता शेर्पाले विश्व कीर्तिमान बनाउँदा नेपालले फेरि विश्वमञ्चमा आफ्नो गौरवपूर्ण उपस्थिति बलियो बनाएको छ।