काठमाडौँ । सटीक बलिङ र परिपक्व ब्याटिङको मद्दतले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अन्तर्राष्ट्रिय टि-ट्वान्टी खेलमा घरेलु टोली मलेसियामाथि ७ विकेटको फराकिलो जित निकालेको छ। मलेसियाको बायुमास ओभल क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा नेपालले मलेसियाले दिएको सामान्य लक्ष्यलाई सहजै पछ्याउँदै शृङ्खलामा बलियो कमब्याक गरेको हो।

मलेसियाले जितका लागि दिएको ८३ रनको सामान्य चुनौतीलाई नेपालले १६ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो।

नेपाललाई जिताउन मध्यक्रमकी ब्याटर सम्झना खड्काले सर्वाधिक ३९ रनको महत्त्वपूर्ण इनिङ्स खेलिन्। ओपनर कविता कुँवरले १९ रन जोड्दै नेपाललाई राम्रो सुरुवात दिलाएकी थिइन् भने सोनी पाखरिनले १२ रन बनाएर सम्झनालाई राम्रो साथ दिइन्। मलेसियाका बलरहरू नेपाली ब्याटिङ लाइनअपसामु निरिह देखिएका थिए।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मलेसिया नेपाली बलरहरूको धारिलो बलिङका अगाडि टिक्न सकेन। निर्धारित २० ओभर खेल्दै मलेसियाले ९ विकेटको क्षतिमा मात्र ८२ रन बनाउन सक्यो।

मलेसियाका लागि ऐना हमिजाले सर्वाधिक १७ रन, धनुश्री मुहुनानले १५ रन र अरिनान नातास्याले १३ रन जोड्नु बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन्।