काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफ्नो पक्राउ पुर्जीविरुद्ध दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा महत्त्वपूर्ण सुनुवाइ हुँदैछ।

न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा यो मुद्दाको पेसी तोकिएको छ। अदालतले आज सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र काठमाडौँ जिल्ला अदालत लगायतका विपक्षीसँगको छलफलपछि देउवाविरुद्ध जारी पक्राउ पुर्जी कार्यान्वयनमा अन्तरिम आदेश (रोक) जारी गर्ने वा नगर्ने भन्नेबारे निर्णय लिनेछ।

यसअघि जेठ ५ गते न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले देउवाको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीका नाममा १५ दिने कारण देखाऊ आदेश जारी गरेको थियो। साथै, अन्तरिम आदेशबारे निर्णय लिन आज (जेठ ११ गते) का लागि दुवै पक्षलाई छलफलमा झिकाउनुका साथै अनुसन्धानको सक्कल फाइल समेत पेश गर्न आदेश दिएको थियो।

गत भदौमा भएको ‘जेन जी’ आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित देउवा निवासमा आगजनी भएको थियो। सो क्रममा घरभित्र ठूलो मात्रामा जलेका/डढेका नोटका टुक्रा फेला परेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले देउवा दम्पतीमाथि गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा अनुसन्धान अघि बढाएको थियो। सोही अनुसन्धानका क्रममा विभागको सिफारिसमा चैतमा काठमाडौँ जिल्ला अदालतले देउवा र उनकी पत्नी आरजु राणाविरुद्ध पक्राउ अनुमति (पुर्जी) जारी गरेको थियो।