काठमाडौं — पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ गर्ने सरकारको प्रयासमा सर्वोच्च अदालतले अन्तरिम रोक लगाएको छ। पक्राउ पुर्जीविरुद्ध देउवा दम्पतीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले अन्तरिम आदेश जारी गरेको हो।

अदालतको आदेशसँगै हाल हङकङमा रहेका देउवा दम्पतीलाई पक्राउ गर्ने सरकारी योजना तत्कालका लागि रोकिएको छ। यसअघि पनि देउवा दम्पतीलाई पक्राउ गर्न गरिएको पहलमा इन्टरपोलले सहयोग गर्न अस्वीकार गरेको थियो।

यसअघि जेठ ५ गते न्यायाधीश मेघराज पोखरेलको इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै १५ दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको थियो। साथै, पक्राउ आदेश कार्यान्वयन गर्ने वा नगर्ने विषयमा छलफलका लागि दुवै पक्षलाई आज अदालतमा उपस्थित हुन भनिएको थियो।

देउवा पक्षले पक्राउ प्रक्रिया गैरकानुनी, अधिकारविपरीत र अनावश्यक भएको दाबी गर्दै रिट दायर गरेको थियो। उनले अनुसन्धानमा पूर्ण सहयोग गर्ने, सम्पत्तिको स्रोत पुष्टि गर्न तयार रहेको र पक्राउ आवश्यक नभएको जिकिर गरेका थिए। सोही आधारमा अदालतले अन्तरिम आदेश जारी गरेको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो। तर सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै उक्त प्रक्रिया तत्कालका लागि अवरुद्ध भएको छ।