काठमाडौँ। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम आज (मङ्गलबार) सार्वजनिक गर्दैछ। आज अपराह्न ५ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।
प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त नीति तथा कार्यक्रम पारित गरेसँगै आजको सदनमा पेस गर्न लागिएको हो।
यसैगरी, प्रदेशसभामा प्रस्तुत प्रदेश सरकारको आगामी आव २०८३–८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि आजैदेखि छलफल सुरु हुने भएको छ।
यसअघि सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए। उक्त प्रस्तावमाथि आज बिहान बस्ने प्रदेशसभा बैठकमा दफावार छलफल गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।
आयोजना बैङ्कको पूर्ण कार्यान्वयन र बजेट अनुशासनलाई जोड दिँदै मन्त्री तामाङले ल्याएको उक्त प्रस्तावमाथि संसद्मा छलफल सकिएपछि आगामी असार १ गते सरकारले पूर्ण बजेट ल्याउने संवैधानिक व्यवस्था छ।

