काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की प्रतिनिधि सभा सदस्य करिश्मा कठरियाले दार्चुला जिल्लाका नागरिकहरूले लामो समयदेखि सीमा अतिक्रमणको पीडा र आफ्नै देशको सरकारबाट चरम उपेक्षा भोग्नुपरेको भन्दै संसदको ध्यानाकर्षण गराएकी छन्।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद कठरियाले नेपालको रणनीतिक तथा ऐतिहासिक महत्त्व बोकेको दार्चुला जिल्ला अझै पनि आधारभूत विकासका पूर्वाधारहरूबाट पूर्ण रूपमा वञ्चित रहेको उल्लेख गरिन्।

“आजको आधुनिक युगमा पनि दार्चुलाका नागरिकहरू सडक, स्वास्थ्य, खानेपानी र सञ्चार जस्ता आधारभूत सेवा पाउनबाट वञ्चित छन्,” संसदमा आक्रोश र चिन्ता व्यक्त गर्दै उनले भनिन्, “त्यहाँका जनता एकातिर लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा भइरहेको वैदेशिक अतिक्रमणको पीडा सहन बाध्य छन् भने, अर्कोतिर आफ्नै राज्यले गरेको विभेद र उपेक्षाको सिकार भइरहेका छन्।”

सांसद कठरियाले राष्ट्रको रक्षाका लागि सिमानामा खटिएका नागरिकहरूलाई नै राज्यले सबैभन्दा बढी पछाडि पारेको भन्दै आक्रोश व्यक्त गरिन्। देशको सिमाना बलियो बनाउन पहिले सीमा क्षेत्रका बासिन्दाको जीवनस्तर र सुरक्षा मजबुत हुनुपर्ने उनको तर्क थियो।

आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम चरणमा रहेका बेला उनले सरकारसँग दार्चुलाको विकासका लागि विशेष प्याकेजको माग समेत गरेकी छन्। “आगामी वर्षको बजेटमा दार्चुलालाई ‘विशेष जिल्ला’ घोषणा गर्दै विशेष बजेटको व्यवस्था गर्न म जोडदार माग गर्दछु,” सरकारलाई सचेत गराउँदै उनले भनिन्, “हामीले बिर्सनु हुँदैन— आफ्नैले हेपेपछि मात्रै छिमेकीले हेप्ने साहस गर्छन्।”

सांसद कठरियाले सीमा क्षेत्रको राष्ट्रियता बलियो बनाउन र त्यहाँका नागरिकमा राज्यप्रतिको भरोसा जगाउन तत्काल विशेष कदम चाल्न सरकारसँग आग्रह गरेकी छन्।