काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार उत्साहजनक रूपमा बढेको धितोपत्र बजार (नेप्से) दोस्रो दिन मंगलबार भने ओरालो लागेको छ । सोमबार २७ अंकको वृद्धि समातेको नेप्से परिसूचक यसदिन ९.२४ अंकले घटेर २७७७.१० विन्दुमा ओर्लिएर बन्द भएको हो ।

बजारमा गिरावट आएसँगै कारोबार रकममा पनि सोमबारको तुलनामा उल्लेख्य कमी आएको छ । सोमबार करिब ६ अर्ब रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएकोमा मंगलबार त्यो संख्या घटेर ४ अर्ब ८५ करोड रुपैयाँमा खुम्चिएको छ ।

मंगलबार बजारमा कुल ३४२ वटा स्क्रिप्स (कम्पनी) को १ करोड १८ लाख ७२ हजार ५०७ कित्ता सेयर कुल ४ अर्ब ८५ करोड ४४ लाख ४४ हजार १७० रुपैयाँमा खरिदबिक्री भयो ।

कारोबार भएका कम्पनीहरूमध्ये ६९ वटा स्टक्सको सेयर मूल्यमा सुधार देखिएको छ भने १९० वटा कम्पनीको मूल्य घटेको छ । बाँकी ११ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो । आज बजारमा कुनै पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट (१० प्रतिशतको वृद्धि) लाग्न सकेन । यद्यपि, कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.२४ प्रतिशतले बढेर बन्द भएको छ ।

कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहन सफल भयो । सो कम्पनीको एक्लै ४६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो ।

मंगलबार बजारमा अधिकांश समूहका उपसूचकहरू राताम्मे (नकारात्मक) देखिएका छन् । कारोबारमा आएका १३ उपसमूहमध्ये केवल म्युचुअल फण्ड र नन लाइफ इन्स्योरेन्स (निर्जीवन बीमा) समूहको उपसूचक मात्र सकारात्मक रहे भने बाँकी सबै समूहको उपसूचक घटेर बन्द भएका छन् ।