काठमाडौँ– संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा महत्त्वपूर्ण विधेयकहरू प्रस्तुत हुने र सरकारका तर्फबाट आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण सार्वजनिक गरिने कार्यसूची रहेको छ।
आजको बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित आएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ प्रतिनिधिसभामा टेबुल गरिनेछ। यस विधेयकले नेपालको मौलिक कला, संस्कृति, परम्परा र सम्पदाको संरक्षणमा कानुनी आधार बलियो बनाउने अपेक्षा गरिएको छ।
यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्षका लागि आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै देशको समग्र आर्थिक अवस्था, चुनौती र सम्भावनाबारे संसदलाई जानकारी गराउनेछन्।
त्यसैगरी, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना ले राष्ट्रियसभामा उत्पत्ति भएको चलचित्र विधेयक, २०८२ माथि प्रतिनिधिसभामा विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
आजको बैठकलाई सरकारले ल्याएका सांस्कृतिक, आर्थिक तथा सञ्चार क्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण कानुनी प्रस्तावमाथि छलफल हुने भएकाले विशेष चासोका साथ हेरिएको छ।

