काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको विद्यमान राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय सहकार्य गर्न सम्बद्ध सबै पक्षलाई आह्वान गरेका छन्।
गणतन्त्र दिवसको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्नु नै वर्तमान समयमा नेपाली जनताको पहिलो र मुख्य जिम्मेवारी भएको प्रष्ट पारे।
अध्यक्ष दाहालद्वारा जारी सन्देशमा भनिएको छ:
“लामो समयको जनसङ्घर्ष र बलिदानबाट प्राप्त भएका राजनीतिक उपलब्धिहरूको संरक्षण गर्दै समृद्ध, न्यायपूर्ण र आत्मनिर्भर नेपाल निर्माणको दिशामा सबै शक्तिहरू एकजुट हुन आवश्यक छ।”
अध्यक्ष प्रचण्डले देशलाई तीव्र आर्थिक विकासको मार्गमा अगाडि बढाउन संकुचित राजनीतिक स्वार्थ त्यागेर बृहत्तर राष्ट्रिय हितमा केन्द्रित हुन सम्पूर्ण राजनीतिक शक्तिहरूलाई आग्रह समेत गरेका छन्।

