काठमाडौँँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब २० खर्ब रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ। संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त बजेट प्रस्तुत गरेका छन ।

संसदमा बजेट प्रस्तुत गर्नुअघि सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आगामी आर्थिक वर्षको आय-व्ययको वार्षिक अनुमान (बजेट) लाई स्वीकृत गरेको थियो। मन्त्रिपरिषद्बाट पारित भएसँगै अर्थमन्त्री वाग्लेले संसदमा बजेट वाचन सुरु गर्नुभएको हो।

मध्यरातसम्म गृहकार्य, आयकरको दरमा व्यापक हेरफेर

आर्थिक शिथिलतालाई चिर्न र राजस्वको दायरा फराकिलो बनाउन अर्थमन्त्री वाग्लेले बिहीबार मध्यरातसम्म मन्त्रालयमा बसेर बजेटलाई अन्तिम रूप दिनुभएको थियो। अर्थ मन्त्रालयका उच्च अधिकारीहरूका अनुसार यसपटक सरकारले सर्वसाधारण र व्यवसायी दुवैलाई प्रत्यक्ष प्रभाव पार्ने गरी आयकरको दरमा व्यापक हेरफेर गरेको छ।

मध्यम वर्गलाई केही राहत दिने र उच्च कमाइ हुने क्षेत्रलाई प्रगतिशील करको दायरामा ल्याउने गरी आयकरका मौजुदा स्ल्याब र दरहरूमा परिमार्जन गरिएको बुझिएको छ।

अर्थमन्त्री डा. वाग्लेले यो बजेटले मुलुकको बिग्रँदो आर्थिक सूचकांकलाई सुधार गर्दै उत्पादनशील क्षेत्रमा लगानी बढाउन गुणात्मक फड्को मार्ने दाबी गर्नुभएको छ। अहिले संसदमा बजेटको बुँदागत विवरण र विभिन्न क्षेत्रगत विनियोजनको वाचन जारी रहेको छ।