काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसदहरूबीच संसद्को कार्यसञ्चालन नियमावलीलाई लिएर रोचक एवं तनावपूर्ण परिस्थिति सिर्जना भएको छ।
बैठकको सुरुमै प्रधानमन्त्री शाहले सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि समय मागेपछि संसद्को माहोल एकाएक तातिएको हो। प्रधानमन्त्रीले आकस्मिक रूपमा समय मागेर रोष्ट्रममा उभिएपछि विपक्षी लहरमा रहेका विभिन्न राजनीतिक दलका सांसदहरूले उठेर विरोध जनाएका थिए।
दलहरूले संसद्को नियमावलीमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको निश्चित विधि, दिन र समय पहिले नै तय हुनुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै यसरी आकस्मिक रूपमा रोष्ट्रम ओगट्नु नियमविपरीत भएको दाबी गरे। “नियमावलीमा स्पष्ट व्यवस्था हुँदाहुँदै कार्यसूची बाहिर गएर नियम मिच्ने काम सरकार प्रमुखबाटै हुनु आपत्तिजनक छ,” विपक्षी दलका एक सांसदले आक्रोश पोखे।
विपक्षीको निरन्तर विरोध र होहल्लाका बीच पनि प्रधानमन्त्री शाह भने रोष्ट्रममै अडिग भई उभिइरहेका थिए। संसद्मा गतिरोध बढ्दै जाँदा नेपाली काङ्ग्रेसका वरिष्ठ सांसद अर्जुन नरसिंह केसीले स्थिति सम्हाल्दै प्रश्न सोध्न सुरु गरेका छन्।
सांसद केसीले नियमावलीको विषयमा आफ्नो दलको असहमति कायम राख्दै प्रधानमन्त्री रोष्ट्रममा उभिइसकेको अवस्थामा देशका समसामयिक र जनसरोकारका विषयमा सरकारको जवाफ माग गर्दै प्रश्न राख्न थालेका हुन्।
अहिले संसद्मा प्रधानमन्त्री र सांसद केसीबीच सवाल–जवाफ चलिरहेको छ भने अन्य प्रतिपक्षी दलहरूले यस प्रक्रियाप्रति आफ्नो असन्तुष्टि व्यक्त गरिरहेका छन्। बैठकको थप विवरण आउन बाँकी छ।

