काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले हालको विद्युत् पूर्वाधारको सीमित क्षमताका कारण नेपाललाई तत्काल पूर्ण रूपमा विद्युतीय युगमा रूपान्तरण गर्न नसकिने बताएका छन्।

आइतबार प्रतिनिधिसभामा बोल्दै उनले देशभर एकैपटक विद्युतीय चुल्हो र इन्डक्सनको प्रयोग व्यापक भए विद्युत् प्रणालीले भार धान्न नसक्ने अवस्था रहेको उल्लेख गरे। उनका अनुसार वर्तमान ट्रान्सफर्मर र सब-स्टेशनहरू पर्याप्त क्षमताका नभएकाले विद्युत् खपतमा ठूलो वृद्धि भए समस्या उत्पन्न हुन सक्छ।

प्रधानमन्त्री शाहले नेपाल विद्युत् प्राधिकरणको क्षमता विस्तार र पूर्वाधार सुदृढीकरणका लागि ठूलो लगानी आवश्यक रहेको बताए। उनले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युत् क्षेत्रमा लगाइएको ५ प्रतिशत भ्याटको उद्देश्य पनि यही रहेको स्पष्ट पारे।

उनका अनुसार भ्याटबाट संकलित रकम ट्रान्सफर्मर स्तरोन्नति, विद्युत् प्रसारण तथा वितरण लाइनको क्षमता वृद्धि र समग्र विद्युत् प्रणालीलाई थप मजबुत बनाउन खर्च गरिनेछ। पर्याप्त पूर्वाधार निर्माणपछि मात्रै देशलाई दिगो रूपमा विद्युतीय युगतर्फ अघि बढाउन सकिने प्रधानमन्त्री शाहको भनाइ छ।