काठमाडौं । नेपाल–भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति नेपाली काँग्रेसले आपत्ति जनाएको छ।

आइतबार संसद् बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले भारततर्फका केही भूभागबारे पनि सीमा विवाद रहेको जानकारी आफूले हालै प्राप्त गरेको बताएका थिए। उक्त भनाइपछि काँग्रेसले त्यसको तथ्यगत आधारबारे सरकारसँग स्पष्टिकरण माग गरेको हो।

काँग्रेसकी सचेतक बासन थापाले दुई देशबीचको संवेदनशील सीमा विषयमा प्रमाण र तथ्यबिना सार्वजनिक रूपमा अभिव्यक्ति दिनु उपयुक्त नहुने बताइन्। उनले प्रधानमन्त्रीले उल्लेख गरेको दाबी सत्य भए त्यससम्बन्धी प्रमाण संसद् र जनतासामु प्रस्तुत गर्न सरकारलाई आग्रह गरिन्।

थापाले प्रमाण पुष्टि गर्न नसकिए प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई संसदीय अभिलेखबाट हटाउनुपर्ने माग समेत राखिन्। सीमा सम्बन्धी विषयलाई राष्ट्रिय हित र कूटनीतिक मर्यादासँग जोडिएको विषय भएकाले तथ्यपरक आधारमा मात्र धारणा सार्वजनिक गर्नुपर्ने उनको भनाइ थियो।

प्रधानमन्त्रीको अभिव्यक्तिपछि संसद्मा सीमा विषय पुनः चर्चाको केन्द्र बनेको छ भने काँग्रेसले सरकारबाट थप स्पष्ट जवाफको अपेक्षा गरेको जनाएको छ।