काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज पाँच दिने औपचारिक भ्रमणका लागि छिमेकी मुलुक भारत प्रस्थान गर्दैछन् । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी आज दिउँसो १ बजे नयाँ दिल्लीतर्फ प्रस्थान गर्न लागेका हुन् ।

​भ्रमण टोलीमा सभापति लामिछानेका साथमा उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा र प्रदीप आचार्य सहभागी रहने छन् ।
​रास्वपाका प्रवक्ता मनिष झाका अनुसार पाँच दिने भ्रमणका क्रममा लामिछानेले नयाँ दिल्लीमा उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाटहरू गर्ने कार्यसूची रहेको छ ।

​भ्रमणका मुख्य कार्यक्रमहरू यस प्रकार छन्:
​राजनीतिक भेटघाट: भारतीय सत्तारुढ दल भाजपाका शीर्ष नेतृत्व र उच्च अधिकारीहरूसँग दुई पक्षीय आपसी हित र चासोका विषयमा छलफल हुने ।
​नेपाली समुदायसँग अन्तर्क्रिया: भारतमा बसोबास गरिरहेका नेपाली समुदाय, बुद्धिजीवी तथा रास्वपाका शुभेच्छुकहरूसँग भेटघाट एवं विशेष छलफल गर्ने कार्यक्रम ।

​पछिल्लो समय नेपालको राष्ट्रिय राजनीतिमा बलियो उपस्थित जनाएको रास्वपाका सभापतिको यो भारत भ्रमणलाई कूटनीतिक एवं राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ ।