काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले नेपाल–भारत सम्बन्धलाई परम्परागत राजनीतिक दृष्टिकोणभन्दा माथि उठाएर विकास, लगानी, व्यापार र जनस्तरको सहकार्यमा आधारित बनाउनुपर्ने बताएका छन्।

पाँच दिने भारत भ्रमणका क्रममा उनले भारतको चर्चित दैनिक पत्रिका hindustantimes.com⁠ मा प्रकाशित लेखमार्फत नेपाल–भारत सम्बन्धबारे आफ्नो दृष्टिकोण सार्वजनिक गरेका हुन्।

लामिछानेले नेपाल–भारत सम्बन्धलाई ‘विकास कूटनीति’मा आधारित बनाउँदै आर्थिक साझेदारीलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनले नेपालको विशाल जलविद्युत् सम्भावनालाई भारतको बढ्दो ऊर्जा आवश्यकतासँग जोडेर क्षेत्रीय ऊर्जा बजार विकास गर्न सकिने उल्लेख गरेका छन्।

उनले सीमापार व्यापार विस्तारसँगै जनकपुर, लुम्बिनी र बोधगया लगायत धार्मिक तथा सांस्कृतिक गन्तव्यलाई समेटेर साझा पर्यटन सर्किट निर्माण गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। यसबाट अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्न सकिने उनको विश्वास छ।
लेखमा कृषि, स्वास्थ्य, साइबर सुरक्षा, विपद् व्यवस्थापन तथा खेलकुदका क्षेत्रमा नेपाल र भारतबीच सहकार्य बढाउनुपर्नेमा पनि जोड दिइएको छ।

साथै, दुई देशबीच समय–समयमा देखिने विवादहरू उग्र राष्ट्रवाद वा राजनीतिक नाराबाजीबाट नभई तथ्य, प्रमाण र आपसी संवादका आधारमा समाधान गर्नुपर्ने धारणा लामिछानेले व्यक्त गरेका छन्। उनका अनुसार पारस्परिक सम्मान र व्यावहारिक सहकार्यले मात्रै नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सक्छ।