काठमाडौं । एसीसी महिला प्रिमियर कप २०२६ मा नेपालले विजयी सुरुआत गरेको छ। समूह डी अन्तर्गत शनिबार भएको खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको हो।
मलेसियाको क्वालालम्पुरस्थित कोलेज तान्कु जाफर ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको कतार १६.५ ओभरमा ७६ रनमा समेटिएको थियो। कतारका लागि ओपनर गीतरुड चान्दिरुले सर्वाधिक २५ रन बनाइन्। कप्तान आयशाले १० रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि रुबिना क्षेत्रीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट हात पारिन्। कविता कुँवर, रिया शर्मा र पूजा महतोले समान एक–एक विकेट लिए।
७७ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १०.५ ओभरमै २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। नेपालकी ओपनर बिन्दु रावलले ३० बलमा ४ चौकासहित ३३ रनको योगदान दिइन्। पूजा महतो २८ रनमा अविजित रहिन् भने कप्तान इन्दु बर्माले ६ रन जोडिन्।
दोस्रो विकेटका लागि बिन्दु रावल र पूजा महतोले ४१ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपालको जित सहज बनाएका थिए।
कतारका साहिरिन नवाब खान र खादिजा अहमदले समान एक–एक विकेट लिए।
नेपालले प्रतियोगिताको दोस्रो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताका सेमिफाइनलमा पुग्ने चार टोलीले आगामी एसिया कपका लागि स्थान सुरक्षित गर्नेछन्।

