काठमाडौँ । लुम्बिनी प्रदेश सरकारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट सहभागी चारजना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारी चलिरहेका बेला मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनमा मन्त्रीहरूले राजीनामा दिएका हुन् ।
एमालेको तर्फबाट सरकारमा सहभागी भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारुमगर र सीता शर्मा चौधरीलाई राजीनामा दिन निर्देशन दिइएको र राजीनामा आउने क्रम जारी रहेको मुख्यमन्त्री आचार्यले पुष्टि गरे । सरकारमा नयाँ अनुहारलाई अवसर दिनका लागि मन्त्री परिवर्तनको प्रक्रिया अघि बढाइएको मुख्यमन्त्री आचार्यको भनाइ छ ।
नयाँ मन्त्रीका लागि चार नाम सिफारिस
एमाले र नेपाली कांग्रेसबीच भएको मौखिक समझदारी अनुसार मन्त्रालय बाँडफाँटको व्यवस्था यथावत् रहने भएपछि एमालेले आफ्नो भागमा रहेका चारवटै मन्त्रालयमा नयाँ प्रतिनिधि पठाउने तयारी गरेको छ ।
पार्टी स्रोतका अनुसार दोस्रोपटक प्रदेशसभामा निर्वाचित भएर पनि मन्त्री बन्न नपाएकाहरूलाई प्राथमिकता दिँदै नयाँ मन्त्रीका रूपमा डिल्लीराज भुसाल, रामजी घिमिरे, तुलसीप्रसाद चौधरी, रत्न खत्री रहेका छन।
कांग्रेसको अडान र शपथमा ढिलाइ
यसैबीच, सत्ता साझेदार प्रमुख दल नेपाली कांग्रेसले भने पूर्वसहमति अनुसार नेतृत्वसहित समग्र सरकारकै पुनर्गठन हुनुपर्ने अडान राख्दै आएको छ । जेठको पहिलो सातामै मन्त्री हेरफेरको चर्चा चले पनि कांग्रेसले मुख्यमन्त्रीसहितको पुनर्गठनको पक्षमा धारणा राखेपछि यो प्रक्रिया केही समय रोकिएको थियो ।
बुधबार नै नयाँ मन्त्री नियुक्त गरी शपथ गराउने तयारी गरिए पनि प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर प्रदेशबाहिर रहेकाले तत्काल नियुक्ति र शपथ सम्भव नहुने भएको छ । प्रदेश प्रमुखको सचिवालयका अनुसार कम्तीमा दुई दिनपछि मात्रै नयाँ मन्त्रीहरूको नियुक्ति र शपथको प्रक्रिया अघि बढ्नेछ ।
बजेट निर्माण र मन्त्रालय कटौतीको निर्णय
बजेट भाषणको तयारी भइरहेका बेला मन्त्रिपरिषद् परिवर्तन भए पनि बजेटमा कुनै प्रभाव नपर्ने मुख्यमन्त्रीको सचिवालयले दाबी गरेको छ । सचिवालयले मन्त्री परिवर्तनलाई नियमित राजनीतिक प्रक्रिया भन्दै बजेट निर्माण कार्य प्रभावित नहुने प्रष्ट पारेको हो ।
लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि लागू हुने गरी मन्त्रालयको संख्या घटाएर आठवटा मात्र कायम गर्ने निर्णय समेत गरिसकेको छ । मन्त्रालयको संख्या घटे पनि दलहरूबीचको साविकको मन्त्रालय बाँडफाँटको समीकरण भने यथावत् रहने बताइएको छ ।

