काठमाडौँ– एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ। बिहीबार भएको समूह चरणको खेलमा नेपालले भुटानलाई ५१ रनले पराजित गर्दै प्रतियोगितामा आफ्नो विजयी यात्रा कायम राखेको हो।
नेपालले प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्य पछ्याएको भुटानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ६२ रन मात्र बनाउन सक्यो। भुटानका लागि देचेन वाङ्मोले सर्वाधिक ३९ रनको योगदान दिइन् भने चडो ओमले ११ रन जोडिन्। अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका बलरहरूले सुरुदेखि नै दबाब सिर्जना गर्दै भुटानलाई खुल्न दिएनन्। कप्तान रुबिना क्षेत्रीले तीन विकेट लिएर बलिङ आक्रमणको नेतृत्व गरिन्। रिया शर्माले दुई विकेट हात पार्दा कविता कुँवर र मनिषा उपाध्यायले समान एक–एक विकेट लिए।
यसअघि बुधबार कतारलाई आठ विकेटले हराएको नेपालले लगातार दोस्रो जितसँगै समूह चरणमा आफ्नो स्थिति थप बलियो बनाएको छ।