काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीका महामन्त्री धवलशमशेर राणाको नेतृत्वमा १८३ जना नेता, कार्यकर्ता तथा जनवर्गीय संगठनका प्रतिनिधिले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।

पार्टी छाड्ने समूहले बिहीबार सार्वजनिक गरेको वक्तव्यमा राप्रपाको वर्तमान नेतृत्वले पार्टीको मूल सिद्धान्त, नीति तथा महाधिवेशनको म्यान्डेटविपरीत काम गरेको आरोप लगाएको छ। उनीहरूले नेतृत्वको आत्मकेन्द्रित कार्यशैलीका कारण पार्टीभित्रको सम्भावना कमजोर बन्दै गएको दाबी गरेका छन्।

राणा पक्षले पार्टीको वैचारिक धरातल र संवैधानिक राजसंस्था पुनर्स्थापनाको एजेन्डालाई बेवास्ता गर्दै नेतृत्व गणतन्त्र सुदृढीकरणको दिशामा अग्रसर भएको भन्दै असन्तुष्टि जनाएको छ। पार्टीका वैधानिक निकायहरूमा पटकपटक प्रश्न उठाउँदा पनि नेतृत्वबाट स्पष्ट जवाफ नआएको उनीहरूको भनाइ छ।

त्यसैगरी, निर्धारित समयभित्र महाधिवेशन सम्पन्न नगरेको, केन्द्रीय कार्यसमितिका निर्णयहरूको पालना नगरेको तथा राजसंस्था पुनर्स्थापनासम्बन्धी आन्दोलनहरूलाई कमजोर बनाउने गतिविधिमा नेतृत्व संलग्न रहेको आरोप पनि उनीहरूले लगाएका छन्।

राप्रपाभित्रको यो नयाँ घटनाक्रमले पार्टीको आगामी राजनीतिक दिशा र संगठनात्मक संरचनामाथि थप प्रश्न खडा गरेको छ। पार्टी नेतृत्वले भने यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन।