काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीनदिने औपचारिक भ्रमणमा जाने भएका छन्। भारतका विदेशमन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा मन्त्री खनाल शुक्रबार नयाँ दिल्ली प्रस्थान गर्न लागेका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनाल असार २२ देखि २४ गतेसम्म भारतमा रहनेछन्। भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

भेटमा नेपाल–भारत सम्बन्धका विविध पक्षबारे छलफल हुने जनाइएको छ। विशेषगरी व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी तथा जनस्तरको सम्बन्ध विस्तारका विषय वार्ताको केन्द्रमा रहनेछन्।

दुवै पक्षले आपसी हितका क्षेत्रहरूमा सहकार्य बढाउने तथा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान गर्नेछन्। परराष्ट्र मन्त्रालयले उच्चस्तरीय भ्रमण आदानप्रदानको निरन्तरताका रूपमा हुन लागेको यस भ्रमणले नेपाल–भारतबीचको ऐतिहासिक र बहुआयामिक सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि हाल भारत भ्रमणमा रहेकाले मन्त्री खनालको भ्रमणलाई राजनीतिक तथा कूटनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।