काठमाडौ । बीपी राजमार्गअन्तर्गत बुच्चाकोट क्षेत्रमा शुक्रबार यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ।
बनेपाबाट काभ्रेको रोशी गाउँपालिका–८ खार्पाचोकतर्फ जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको हो। नमोबुद्ध नगरपालिका–२ सेल्फीडाँडा हुँदै गन्तव्यतर्फ जाँदै गरेको बस अनियन्त्रित भई सडकबाट तल खसेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।

स्थानीय प्रहरीका अनुसार हालसम्म दुर्घटनास्थलबाट सात जनाको शव निकालिएको छ। घाइतेहरूको उद्धार तथा उपचारका लागि स्थानीयवासी, प्रहरी र सुरक्षाकर्मी परिचालित भएका छन्।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। मृतक तथा घाइतेहरूको पहिचान गर्ने काम भइरहेको छ भने घटनाबारे थप विवरण आउने क्रम जारी रहेको छ।
प्रहरीले दुर्घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।