काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा सुविधा उपयोग गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधबार सार्वजनिक सूचना जारी गर्दै अध्ययन बिदा पूरा गरेपछि नियमानुसार सेवामा नफर्किएका वा तोकिएको सेवा अवधि पूरा नगरी विश्वविद्यालय छाडेका शिक्षक तथा कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो।

त्रिविले तोकिएको समयभित्र सम्पर्कमा नआएमा विश्वविद्यालयसँग गरिएको कबुलियतनामा तथा प्रचलित नियमअनुसार कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।

विश्वविद्यालयका अनुसार अध्ययन बिदा लिएर सेवामा नफर्किएका ५० जना प्राध्यापकबाट हालसम्म ११ करोड ८४ लाख रुपैयाँभन्दा बढी रकम असुल भइसकेको छ। बाँकी रकम असुली प्रक्रिया पनि निरन्तर जारी रहने जनाइएको छ।

त्रिविले अध्ययन बिदा दक्ष, अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रियस्तरको प्राज्ञिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्रदान गरिने विशेष सुविधा भएको उल्लेख गरेको छ। तर केही प्राध्यापकले उक्त सुविधाको दुरुपयोग गर्दै अध्ययन पूरा गरेपछि सेवामा नफर्किँदा विश्वविद्यालयलाई आर्थिक, शैक्षिक तथा प्राज्ञिक क्षति पुगेको जनाएको छ।

विश्वविद्यालयले अध्ययन बिदा उपयोग गर्ने सबै प्राध्यापक तथा कर्मचारीले सम्झौताअनुसारको सेवा दायित्व पूरा गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै नियम कार्यान्वयनमा कडाइ गरिने स्पष्ट पारेको छ।