काठमाडौं । नेपाली कांग्रेसका सांसद निश्कल राईले चिया उद्योग र किसानहरू गम्भीर समस्यामा पर्दा पनि सरकारले आवश्यक चासो नदेखाएको आरोप लगाएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले भारतले लागू गरेको नयाँ गुणस्तर मापदण्डका कारण नेपाली चिया निर्यात प्रभावित भएको र त्यसको प्रत्यक्ष असर उद्योगी तथा किसानमाथि परेको बताए।
सांसद राईका अनुसार भारतीय पक्षको नयाँ व्यवस्थाअनुसार चियाको गुणस्तर परीक्षण प्रतिवेदन प्राप्त गर्न दुई साताभन्दा बढी समय लाग्ने गरेको छ। प्रतिवेदन नआएसम्म चिया बिक्री गर्न नपाइने र सामान्य समस्या देखिए पनि उत्पादन गरिएको चिया नष्ट गर्नुपर्ने व्यवस्थाले नेपाली व्यवसायी थप समस्यामा परेको उनले बताए।
देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको चिया क्षेत्र संकटमा पर्दा पनि सरकारले कुनै प्रभावकारी पहल नगरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। वार्षिक तीन करोड किलोभन्दा बढी तयारी चिया निर्यात हुने भए पनि उद्योगी र किसानका समस्या समाधानमा सरकार उदासीन बनेको उनको भनाइ थियो।
प्रधानमन्त्री र सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै सांसद राईले सामाजिक सञ्जालमा चिया पसलको प्रचारभन्दा चिया उत्पादक किसान र उद्योगीहरूको वास्तविक समस्या समाधानमा ध्यान दिनुपर्ने बताए।
चिया क्षेत्रसँग सम्बन्धित विषय आफूले संसद्मा सातौँ पटक उठाएको उल्लेख गर्दै उनले समस्या समाधानका लागि तत्काल कूटनीतिक तथा नीतिगत पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

