
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले कूटनीतिक माध्यमबाट आवश्यक पहल गरिरहेको बताएकी छन्।
बुधबार प्रतिनिधिसभामा मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले चिया निर्यातमा देखिएका प्राविधिक तथा व्यापारिक अवरोध हटाउन सम्बन्धित निकायमार्फत प्रयास जारी रहेको जानकारी दिइन्।
मन्त्री कुमारीले चिया, अलैँची लगायत कृषि उपजको भण्डारण समस्या समाधान तथा बजार पहुँच विस्तारका लागि निजी क्षेत्रसँग लागत साझेदारीमा वेयरहाउस निर्माण गर्न स्रोत व्यवस्थापनको काम अघि बढाइएको बताइन्।
उनका अनुसार नेपाल आयल निगममार्फत सिलिगुढी–चारआली तथा अमलेखगञ्ज–लोथर अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माणको प्रक्रिया अगाडि बढिरहेको छ। साथै, सर्लाहीमा पेट्रोलियम भण्डारण केन्द्र निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन भइसकेको उनले जानकारी दिइन्।
देशको कुल मागअनुसार कम्तीमा तीन महिनासम्म पुग्ने गरी पेट्रोलियम पदार्थ भण्डारण क्षमता विस्तार गर्ने लक्ष्यसहित सरकारले काम गरिरहेको मन्त्री कुमारीले उल्लेख गरिन्।
उनले नवीन सोच र प्रविधिमा आधारित उद्यम प्रवर्द्धन गर्न स्टार्टअप उद्यम कर्जा कार्यक्रम, व्यवसाय प्रवर्द्धन सेवा तथा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिने बताइन्। राष्ट्रिय उद्यम सेवा कार्यक्रममार्फत स्वदेशी उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको उनको भनाइ थियो।
त्यस्तै, निर्माण प्रगतिका आधारमा औद्योगिक ग्रामहरूलाई कानुनबमोजिम बजेट निकासा गरिने मन्त्री कुमारीले स्पष्ट पारिन्।
