काठमाडौं – अमेरिका र इरानबीच भएको नयाँ सहमतिपछि अमेरिकाले इरानी बन्दरगाह तथा तटीय क्षेत्रमा लागू गरेको नौसैनिक नाकाबन्दी हटाएको छ। सम्झौतामा हस्ताक्षर भएको केही समयपछि अमेरिकी प्रशासनले उक्त निर्णय कार्यान्वयनमा ल्याएको जनाएको छ।

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनअनुसार इरानतर्फ जाने तथा त्यहाँबाट फर्किने जहाजमाथि लगाइएको अवरोध हटाइएको जानकारी दिएको हो। सेन्टकमका अनुसार नाकाबन्दीसँग सम्बन्धित सबै गतिविधि रोकिएको छ भने इरानी बन्दरगाहमा आवतजावत गर्ने जहाजहरूलाई अब अमेरिकी सेनाले अवरोध गर्ने छैन।

यद्यपि, सम्झौताका शर्तहरूको पालना सुनिश्चित गर्न अमेरिकी युद्धपोतहरू सम्बन्धित समुद्री क्षेत्रमा भने तैनाथ रहने जनाइएको छ।
यसअघि मध्यस्थकर्ताको भूमिका निभाएका पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सम्झौता तत्काल प्रभावबाट लागू भएको बताएका थिए। उनले पहिलो चरणअन्तर्गत इरानले होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउने तथा अमेरिकाले इरानमाथिको नौसैनिक नाकाबन्दी हटाउने सहमति भएको जानकारी दिएका थिए।

विश्लेषकहरूले अमेरिका–इरानबीचको यो सहमतिले लामो समयदेखि बढ्दै गएको क्षेत्रीय तनाव कम गर्न सहयोग पुग्ने र अन्तर्राष्ट्रिय समुद्री व्यापार तथा ऊर्जा आपूर्तिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेका छन्।