काठमाडौं, असार १९ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डको शुक्रबार बिहान बसेको बैठकले नतिजा अनुमोदन गरेपछि औपचारिक रूपमा प्रकाशित गरिएको हो।

सरकारले नतिजा ४५ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको भए पनि बोर्डले तोकिएको समयसीमाभन्दा अगावै नतिजा सार्वजनिक गरेको जनाएको छ।

बोर्डका अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा कुल चार लाख १८ हजार १७० विद्यार्थी सहभागी भएका थिए। सहभागीमध्ये तीन लाख ३२ हजार २४१ जना नियमित तथा ८५ हजार ९२९ जना आंशिकतर्फका परीक्षार्थी रहेका थिए।

यस वर्ष बोर्डले नतिजा प्रकाशनलाई तीव्रता दिएको देखिएको छ। यसअघि माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजासमेत परीक्षा सम्पन्न भएको २९ दिनमै सार्वजनिक गरिएको थियो।

परीक्षा व्यवस्थापन र नतिजा प्रकाशन प्रक्रियामा सुधार गर्दै आएको बोर्डले समयमै नतिजा सार्वजनिक गर्ने प्रयासलाई निरन्तरता दिएको जनाएको छ।