काठमाडौं । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नारासहित आज अन्तरराष्ट्रिय योग दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ। प्रत्येक वर्ष जुन २१ मा मनाइने यस दिवसका अवसरमा योगप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले देशभर विशेष कार्यक्रम आयोजना गरिएका छन्।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ देखि अन्तरराष्ट्रिय योग दिवस मनाउन थालिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा योग दिवस घोषणा गर्ने प्रस्ताव राखेका थिए, जसलाई नेपालसहित १७७ राष्ट्रले समर्थन गरेका थिए।
नेपालमा भने माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउने परम्परा रहेको छ। सरकारले विसं २०७२ मा माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गरेपछि नेपालमा राष्ट्रिय र अन्तरराष्ट्रिय गरी वर्षमा दुई पटक योग दिवस मनाउने गरिएको छ।
योगको अध्ययन तथा अनुसन्धानलाई प्रोत्साहन गर्दै नेपाल संस्कृत विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयमा योगसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालनमा छन्। पछिल्लो समय स्वस्थ जीवनशैली र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि योगप्रति नेपालीहरूको आकर्षण बढ्दै गएको छ।
अन्तरराष्ट्रिय योग दिवसका अवसरमा आज बिहान राष्ट्रिय खेलकुद परिषद् परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा योग अभ्यास, योगासन प्रदर्शन तथा यसको महत्त्वबारे जानकारी गराइने जनाइएको छ।
योग स्वास्थ्य संरक्षणको प्रभावकारी माध्यम भएको उल्लेख गर्दै विज्ञहरूले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन योगलाई दैनिक जीवनमा अपनाउनुपर्नेमा जोड दिएका छन्।

