काठमाडौं – कप्तान क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० ले पराजित गर्दै समूह चरणमा महत्वपूर्ण जित दर्ता गरेको छ।

खेलको छैटौँ मिनेटमै जोआओ क्यान्सिलोको पासमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए। त्यसपछि १६औँ मिनेटमा नुनो मेन्डिजले गोल थप्दै टोलीको अग्रता दोब्बर बनाए।

पहिलो हाफको ३९औँ मिनेटमा ब्रुनो फर्नान्डिजको पासलाई सदुपयोग गर्दै रोनाल्डोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे। खेलको अन्त्यतिर राफेल लिओले गोल थपे भने उज्वेकिस्तानका अब्दुलोभ खुसानोभबाट भएको आत्मघाती गोलका कारण पोर्चुगलले ५–० को सहज जित निकाल्यो।

उज्वेकिस्तानले पहिलो हाफको २८औँ मिनेटमा गोल गरे पनि भीएआर परीक्षणपछि फाउल पुष्टि भएकाले उक्त गोलले मान्यता पाएन।

यस खेलसँगै रोनाल्डोले विश्वकप इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्। सन् २००६ देखि हालसम्मका लगातार छ संस्करणमा गोल गर्ने उनी पहिलो खेलाडी बनेका छन्। साथै, विश्वकपमा १० गोल पुर्‍याउँदै उनले पोर्चुगलका महान् स्ट्राइकर ओसिबेको ६० वर्ष पुरानो नौ गोलको कीर्तिमान तोडेका छन्।

पहिलो खेलमा डीआर कंगोसँग बराबरी खेलेको पोर्चुगलले दोस्रो खेलको जितसँगै चार अंक जोडेको छ र समूहको शीर्ष स्थानतर्फ बलियो दाबेदारी प्रस्तुत गरेको छ।