काठमाडौँ । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ६८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। यो चालु आर्थिक वर्षको बजेटभन्दा करिब ७३ करोड रुपैयाँ अर्थात् १६.५५ प्रतिशतले बढी हो।
बुधबार सम्पन्न २०औँ नगर अधिवेशनमा प्रस्तुत बजेटअनुसार चालुतर्फ २ अर्ब ४० करोड ३४ लाख ८५ हजार रुपैयाँ, पुँजीगततर्फ १ अर्ब ९६ करोड ९९ लाख ८४ हजार रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ५ करोड रुपैयाँ विनियोजन गरिएको छ।
कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको अध्यक्षतामा सम्पन्न अधिवेशनमा वडा नम्बर ४ का अध्यक्ष जगत साह कानुले बजेटको विवरण प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा हालसम्म ५८.५ प्रतिशत बजेट खर्च भइसकेको र आर्थिक वर्षको अन्त्यसम्म खर्च ६५ प्रतिशत पुग्ने अनुमान गरिएको जानकारी दिए।
महानगरको आगामी बजेटका प्रमुख स्रोतहरूमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आम्दानी, घरजग्गा रजिस्ट्रेसन शुल्क, गत वर्षको मौज्दात तथा नगर विकास कोषबाट प्राप्त हुने रकम समावेश छन्।
आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, विपद् व्यवस्थापन र वातावरण संरक्षणलाई मुख्य प्राथमिकतामा राखिएको छ। साथै स्वरोजगार प्रवर्द्धन, सहर सौन्दर्यीकरण र जलवायु परिवर्तनका असर न्यूनीकरणका कार्यक्रमसमेत समेटिएका छन्।
कार्यवाहक नगरप्रमुख आलमले सरसफाइ, फोहोर व्यवस्थापन, स्वास्थ्य सेवा र शिक्षाको गुणस्तर सुधारलाई विशेष प्राथमिकता दिइएको बताए। उनले खानेपानी समस्या समाधान, सिर्सिया खोलाको व्यवस्थापन, पूर्वाधार विस्तार तथा पर्यटन प्रवर्द्धनमार्फत वीरगन्जलाई स्वच्छ, व्यवस्थित र दिगो सहरका रूपमा विकास गर्ने लक्ष्य लिइएको उल्लेख गरे।

