काठमाडौं – देशभर मनसुन क्रमशः सक्रिय बन्दै गएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशमा मनसुनको पूर्ण प्रभाव रहेको छ भने गण्डकी र लुम्बिनीका केही भागमा पनि यसको प्रभाव देखिएको छ।
महाशाखाले गण्डकी र लुम्बिनीका बाँकी क्षेत्रसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि आगामी तीनदेखि चार दिनभित्र मनसुन पूर्ण रूपमा फैलिने जनाएको छ। हाल देशका अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ भने केही स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। तराईका केही स्थानमा पनि वर्षासँगै हुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ। विशेषगरी कोशी प्रदेशका पहाडी र तराई क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति पनि अधिकांश क्षेत्रमा वर्षाको क्रम जारी रहनेछ। कोशी प्रदेशका धेरै स्थान तथा बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका तराई क्षेत्रमा हुरीसहित मेघगर्जन र चट्याङको जोखिम रहने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। नदी तथा खोला आसपास, पहिरोको जोखिम भएका क्षेत्र र खुला स्थानमा विशेष सतर्क रहन पनि सुझाव दिइएको छ।