काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा फोर्स गाडी दुर्घटना भएपछि उद्धार तथा बेपत्ता यात्रुको खोजीकार्य तीव्र पारिएको छ।
सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी बुधबार बिहान करिब ११ः३० बजे अनियन्त्रित भई सडकबाट करिब ६०० देखि ७०० मिटर तल कर्णाली नदीमा खसेको थियो।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेस तथा प्रहरी चौकी पाल्तडाबाट संयुक्त उद्धार टोली घटनास्थलमा परिचालन गरिएको छ।
उद्धार अभियानका क्रममा दुर्घटनास्थलबाट करिब ४०० मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला परेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले शवलाई सडकसम्म ल्याउने प्रयास गरिरहेको छ भने बेपत्ता यात्रुको खोजी पनि निरन्तर जारी छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनाग्रस्त गाडीमा कति जना यात्रु सवार थिए भन्ने यकिन विवरण अझै खुल्न सकेको छैन। त्यसैले यात्रुको संख्या, बेपत्ताको अवस्था तथा अन्य सम्भावित क्षतिको विवरण संकलन गर्ने कार्य जारी रहेको उनले बताए।
प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान अघि बढाएको छ भने उद्धार टोलीले नदी र आसपासका क्षेत्रमा खोजी अभियानलाई निरन्तरता दिएको छ।

