काठमाडौँ । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा गएराति आएको लेदोसहितको बाढीमा परी एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
अविरल वर्षापछि आइतबार राति करिब ३ बजे धुलाखोला र आसपासका खोल्साबाट आएको लेदोसहितको बाढी बस्तीमा पस्दा ठूलो जनधनको क्षति भएको हो। बाढीको चपेटामा परी स्थानीय ५६ वर्षीया आनन्दी विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
रातिको समयमा अधिकांश स्थानीयवासी सुतिरहेको बेला एक्कासि बाढी गाउँमा पसेपछि घर तथा अन्य संरचनामा समेत क्षति पुगेको छ। घटनामा घाइते भएका ६ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी संयुक्त रूपमा उद्धार, खोज तथा राहत कार्यमा खटिएका छन्। क्षतिको पूर्ण विवरण संकलन गर्ने काम जारी रहेको जनाइएको छ।

