लिमासोल (साइप्रस) – साइप्रसमा नेपाली दूतावास स्थापना गर्नुपर्ने मागसहित सञ्चालन गरिएको हस्ताक्षर अभियानमा नेपाली समुदायको उल्लेखनीय सहभागिता देखिएको छ। नागरिक पहल ‘नागरिक बोली’ ले सञ्चालन गरिरहेको अभियानअन्तर्गत हालसम्म दुई चरणमा ९७२ जना नेपाली नागरिकले प्रत्यक्ष हस्ताक्षर गरेका छन्।
अभियानको पहिलो चरण २०२६ जुन २८ मा लिमासोलस्थित मोलोस पार्कमा सम्पन्न भएको थियो। उक्त दिन ३११ जना नेपाली नागरिकले उपस्थित भएर हस्ताक्षर गर्दै साइप्रसमा नेपाली दूतावास स्थापना गर्नुपर्ने मागमा समर्थन जनाएका थिए।
यस्तै, दोस्रो चरण २०२६ जुलाई ५ मा सोही स्थानमा सञ्चालन गरिएको थियो। दोस्रो चरणमा ६६१ जना नेपाली नागरिकले प्रत्यक्ष उपस्थित भई हस्ताक्षर गर्दै अभियानप्रति ऐक्यबद्धता जनाएका छन्।
दुई चरणको अभियानमार्फत कुल ९७२ जना नेपाली नागरिकले हस्ताक्षर गरिसकेको नागरिक बोलीले जनाएको छ। संस्थाका अनुसार हस्ताक्षर अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछ।
साइप्रसमा नेपाली समुदायको संख्या निरन्तर बढ्दै गए पनि त्यहाँ नेपाली दूतावास नहुँदा राहदानी नवीकरण, कन्सुलर सेवा, कानुनी परामर्श, आपतकालीन उद्धार तथा अन्य प्रशासनिक सेवाका लागि नेपाली नागरिकले विभिन्न समस्या भोग्नुपरेको बताइएको छ। यिनै समस्याको दीर्घकालीन समाधानका लागि साइप्रसमै नेपाली दूतावास स्थापना गर्नुपर्ने मागसहित अभियान सञ्चालन गरिएको जनाइएको छ।
नागरिक बोलीले अभियानमा सहभागी भई हस्ताक्षर गर्ने सम्पूर्ण नेपाली समुदायप्रति आभार व्यक्त गर्दै आगामी चरणहरूमा पनि सक्रिय सहभागिताका लागि अनुरोध गरेको छ। संस्थाले “हाम्रो आवाज, हाम्रो दूतावास” भन्ने नारासहित अभियानलाई निरन्तर अघि बढाइने जनाएको छ।

