काठमाडौं । देशका विभिन्न जिल्लामा फैलिएको बर्डफ्लु संक्रमण नियन्त्रण अभियान प्रभावकारी बन्दै जाँदा हालसम्म सात जिल्लामा रोग पूर्णरूपमा नियन्त्रणमा आएको छ। पशुसेवा विभागले झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आइसकेको जनाएको छ।

विभागका अनुसार काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुर तथा काभ्रेपलाञ्चोकमा भने संक्रमणको जोखिम कायम रहेकाले ती क्षेत्रमा निगरानी र नियन्त्रणका गतिविधि अझै जारी छन्।

संक्रमण रोकथामका लागि प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन गरी संक्रमित पन्छी, अण्डा, दाना तथा पन्छीजन्य सामग्री सुरक्षित रूपमा नष्ट गरिएको विभागका प्रवक्ता डा. मुकुल उपाध्यायले जानकारी दिए।

सीमा नाका तथा विभिन्न स्थानमा पशु क्वारेन्टाइन कार्यालयले निगरानी बढाउँदै अवैध रूपमा ओसारपसार गरिएका पन्छीसमेत नियन्त्रणमा लिएर नष्ट गरेको विभागले जनाएको छ।

केही जिल्लामा संक्रमणको अवस्था सामान्य बन्दै गएपछि पन्छीको ओसारपसारमा लगाइएको कडाइ आंशिक रूपमा खुकुलो पारिएको छ। यद्यपि, उच्च जोखिम भएका क्षेत्रमा सतर्कता यथावत् राखिएको विभागको भनाइ छ।

विभागले संघ, प्रदेश र स्थानीय तहसँगको समन्वयमा रोग नियन्त्रण अभियानलाई निरन्तरता दिँदै पन्छीपालक किसानलाई जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न तथा शंकास्पद लक्षण देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ।