काठमाडौं : प्रतिनिधिसभाको बिहीबारको बैठक विपक्षी दलहरूको विरोधबीच सुरु भएको छ। बैठक प्रारम्भ हुनेबित्तिकै विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन्।

सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठक सञ्चालन सुरु गरेलगत्तै नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले विरोध गर्दै प्रधानमन्त्रीको उपस्थितिको माग दोहोर्‍याएका छन्।
विपक्षी दलहरूले नेपाल–भारत सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्ति सच्याउनुपर्ने अडान राख्दै करिब एक महिनादेखि सदनमा निरन्तर दबाब दिँदै आएका छन्।

प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर आफ्नो भनाइ स्पष्ट पार्नुपर्ने उनीहरूको माग छ।
यस विषयमा सत्ता पक्ष र विपक्षबीच सहमति जुट्न नसक्दा प्रतिनिधिसभाको बैठकमा पटक–पटक अवरोध हुँदै आएको छ।