काठमाडौ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का १४ जना महिला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएको क्रममा सम्पर्कविहीन भएका छन्। आइतबार बिहान निकुञ्ज प्रवेश गरेका उनीहरू साँझसम्म घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार भीमदत्त–१९ को दशरथ टोल र बागफाँटा क्षेत्रका महिलाहरू बिहान करिब ११ बजे मालुमेला पोष्ट हुँदै निकुञ्जभित्र प्रवेश गरेका थिए।

सम्पर्कविहीन हुनेमा सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार रहेका छन्।

प्रहरीका अनुसार उनीहरू नौ र पाँच जनाको दुई समूहमा विभाजन भएर जंगलभित्र च्याउ खोज्न गएका थिए। निर्धारित समयमा घर नफर्किएपछि उनीहरूको खोजी सुरु गरिएको हो।

घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरी, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कर्मचारी र स्थानीयवासीको संयुक्त टोलीले खोजी अभियान सञ्चालन गरेको छ। हालसम्म उनीहरूको अवस्था खुल्न नसकेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले जंगल क्षेत्रमा प्रवेश गर्दा समूहबाट नछुट्टिन, आवश्यक सुरक्षा सावधानी अपनाउन तथा सम्बन्धित निकायलाई जानकारी गराएर मात्रै प्रवेश गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।