काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले पुँजी बजारमा देखिएको निराशा, लगानीकर्ताको मनोबल र सुधारका उपायबारे छलफल गर्न आज विशेष बैठक बोलाएका छन्। बैठक आज दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेन्ज (नेप्से), स्टक ब्रोकर एशोसिएशन, स्टक डिलर कम्पनीका प्रतिनिधि, पूर्व नियामक अधिकारी तथा निजी क्षेत्रका विज्ञ र लगानीकर्ताको सहभागिता रहनेछ।

हालै सेयर बजारमा करिब ३८० अंकको गिरावटसँगै लगानीकर्ताले ठूलो क्षति बेहोरेपछि बजारमा देखिएको निराशालाई सम्बोधन गर्ने उद्देश्यले प्रधानमन्त्रीले प्रत्यक्ष संवाद गर्न लागेका हुन्।
बैठकमा पुँजी बजारको वर्तमान अवस्थाको समीक्षा, धितोपत्र बजारलाई थप पारदर्शी, व्यवस्थित र लगानीमैत्री बनाउने नीतिगत सुधार, नियामकीय प्रभावकारिता तथा लगानीकर्ताको विश्वास पुनःस्थापित गर्ने उपायबारे विस्तृत छलफल हुने जनाइएको छ।

सहभागीहरूले बजार सुधारका लागि आवश्यक सुझाव प्रधानमन्त्रीसमक्ष प्रस्तुत गर्नेछन् भने सरकारले आगामी दिनमा अवलम्बन गर्नुपर्ने नीति र कार्यक्रमबारे समेत धारणा आदानप्रदान हुने अपेक्षा गरिएको छ। साथै, समग्र अर्थतन्त्रमा पुँजी बजारको भूमिकालाई सुदृढ बनाउने विषय पनि बैठकको प्रमुख एजेन्डा रहनेछ।