काठमाडौं — निरन्तर ओरालो लागेको सेयर बजारलाई चलायमान बनाउन पुँजी बजार, धितोपत्र व्यवसाय तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले सोमबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग भेट गरी बजार सुधारका लागि आवश्यक नीतिगत तथा कानुनी सुधारका विषयमा विस्तृत छलफल गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा करिब डेढ घण्टा चलेको छलफलमा लगानीकर्ता संरक्षण, बजारमा तरलता वृद्धि, संस्थागत लगानीकर्ताको सहभागिता विस्तार तथा लगानीमैत्री वातावरण निर्माणका विषयलाई प्राथमिकताका साथ उठाइएको थियो।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालका अनुसार प्रतिनिधिमण्डलले प्राथमिक निष्कासन (आईपीओ) को संरचनामा सुधार, योग्य संस्थागत लगानीकर्ताका लागि ४० प्रतिशतसम्म सेयर छुट्याउने व्यवस्था, बुक बिल्डिङ प्रणालीको प्रभावकारी कार्यान्वयन तथा दोस्रो बजारमा मूल्य निर्धारण प्रक्रियालाई थप पारदर्शी बनाउने प्रस्ताव राखेको थियो।
त्यसैगरी बजारमा तरलता अभिवृद्धिका लागि इन्ट्रा–डे कारोबार, सेक्युरिटिज लेन्डिङ एन्ड बरोइङ, सेक्युरिटिज नेट सेटलमेन्ट तथा सर्ट सेलिङ प्रणाली चरणबद्ध रूपमा लागू गर्नुपर्ने सुझाव पनि सरकारसमक्ष प्रस्तुत गरिएको छ।
प्रतिनिधिमण्डलले पुँजीगत लाभकरको विद्यमान व्यवस्था पुनरावलोकन गरी नाफा–नोक्सान समायोजनपछि प्राप्त वास्तविक नाफामा मात्रै कर लगाउने प्रणाली लागू गर्नुपर्ने मागसमेत गरेको जनाएको छ। गैरआवासीय नेपाली (एनआरएन) र विदेशी संस्थागत लगानीकर्तालाई दोस्रो बजारमा लगानी गर्न सहज बनाउने तथा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को रणनीतिक साझेदारसहित पुनर्संरचनाको आवश्यकता पनि छलफलको विषय बनेको थियो।
छलफलका क्रममा प्रधानमन्त्री शाहले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै पुँजी बजारलाई थप सुदृढ र गतिशील बनाउन आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले लगानीकर्ताको विश्वास कायम गर्दै लगानीमैत्री वातावरण निर्माणमा सरकार सकारात्मक रहेको बताएका थिए।
बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालसहित पुँजी बजारसँग सम्बन्धित विभिन्न निकायका प्रतिनिधिहरू सहभागी थिए।

