काठमाडौं । सरकारले वस्तु तथा सेवा खरिद गर्दा बिल (बीजक) लिने उपभोक्तालाई प्रोत्साहन गर्न ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ लागू गरेको छ।

नयाँ व्यवस्थाअनुसार व्यक्तिगत प्रयोजनका लागि एक पटकमा १०० रुपैयाँभन्दा बढीको खरिद गर्ने उपभोक्ता उपहार कार्यक्रममा सहभागी हुन सक्नेछन्। विद्युतीय माध्यमबाट गरिएको भुक्तानी स्वतः कार्यक्रममा समावेश हुनेछ भने नगद भुक्तानी गर्नेले विभागको वेब पोर्टल वा मोबाइल एपमार्फत बीजक विवरण दर्ता गर्नुपर्नेछ।

प्रत्येक महिनाको १ र १६ गते स्वचालित प्रणालीबाट विजेता छनोट गरिनेछ। दैनिक विजेताले १ लाख ३३ हजार ३३४ रुपैयाँ र पाक्षिक बम्पर विजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। पुरस्कार रकमबाट कानुनअनुसार २५ प्रतिशत कर कट्टी गरी बाँकी रकम बैंक खातामा जम्मा गरिनेछ।

तर व्यवसायिक प्रयोजनका खरिद, सरकारी निकायका बीजक, टेलिफोन, इन्टरनेट, बिजुली, सवारीसाधन तथा हवाई टिकटका बीजक भने कार्यक्रममा समावेश हुने छैनन्।

सरकारले यो कार्यक्रममार्फत बिल लिने-दिने संस्कृतिको विकास, कर छलि न्यूनीकरण र कर अनुपालन बढाउने लक्ष्य राखेको जनाएको छ।