काठमाडौं । काठमाडौं र धादिङलाई जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको यो नेपालकै पहिलो व्यवस्थित सडक सुरुङमार्ग हो।
नेपालका लागि जापानी राजदूत मायदा तोरु, जाइकाका अध्यक्ष डा. तानाका अकिहिको तथा पूर्वाधार विकासमन्त्री सुनील लम्सालको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गरिएको हो।
सरकारले पहिलो चरणमा आपत्कालीन सेवाका सवारीसाधनलाई मात्रै सुरुङमार्ग प्रयोग गर्न दिने जनाएको छ। त्यसपछि चरणबद्ध रूपमा निजी तथा सार्वजनिक सवारीसाधनलाई सञ्चालन अनुमति दिइनेछ।
२०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको यो आयोजना प्रारम्भिक योजनाअनुसार ४२ महिनाभित्र सम्पन्न हुनुपर्ने भए पनि कोभिड–१९ महामारी, मुआब्जा विवादलगायत कारण निर्माणमा ढिलाइ भएको थियो।
मुख्य सुरुङको लम्बाइ २.६८ किलोमिटर रहेको छ भने २.५५७ किलोमिटर लामो आपत्कालीन सुरुङ पनि निर्माण गरिएको छ। सुरुङमार्गमा पैदलयात्री, दुईपाङ्ग्रे सवारी तथा पेट्रोल, डिजेलसहित प्रज्वलनशील पदार्थ बोकेका सवारीसाधनलाई प्रवेश निषेध गरिएको छ।
सुरुङमार्ग प्रयोगका लागि सवारीसाधनअनुसार शुल्क तोकिएको छ। कार तथा भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनीबस र टिपरका लागि ११५/८० रुपैयाँ, बस तथा ट्रकका लागि २६०/२०० रुपैयाँ र हेभी ट्रकका लागि ६००/२५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
आयोजना जापान सरकार र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण गरिएको हो। प्रारम्भमा जापानको करिब १६.५ अर्ब रुपैयाँ र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी रहने सहमति भएको थियो। निर्माण अवधिमा लागत बढेपछि जापानले थप ५ अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराएको थियो। सुरुङ निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसनले लिएको थियो।

