काठमाडौं । बुधबारको भोटेकोशी बाढीबाट अति प्रभावित विभिन्न जलविद्युत परियोजनाका पाँचवटा सुरुङ खोस्रिने काममा नेपाली सेना परिचालित भएको छ ।

तर, ती सुरुङमा भित्रिने र बाहिरिने (इन्ट्री-एक्जिट) विन्दु पहिल्याउन गाह्रो भइरहेको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताए ।

बस्नेतका अनुसार त्रिशूली थ्री ए, बी, युटी १, २ र चिलिमे परियोजनाका सुरुङको द्वार खोल्ने काममा सेना खटिएको हो । तर, अहिलेसम्म कोही पनि मानिसको उद्धार भएको छैन ।

तीमध्ये एउटा सुरुङ खोस्रिनका लागि ९२ जना सैनिक जनशक्ति परिचालित भएको र अन्यमा परिचालित जनशक्तिबारे केही समयपछि जानकारी दिन सकिने प्रवक्ता बस्नेतले बताएका छन् ।