काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरबीच भेटवार्ता भएको छ ।
रास्वपा पार्टी कार्यालय बनस्थलीमा भएको भेटमा मुख्यमन्त्री थापाले विपद्पछिको उद्धार, राहत तथा व्यवस्थापनमा तीन तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसकेको बताएका छन् । उनले प्रदेश सरकारले आफ्नै ढंगले काम गरिरहेको जानकारी गराए ।
प्रधानमन्त्री प्रभावित क्षेत्रमा पुग्दा समेत प्रदेश सरकारले त्यसबारे जानकारी नपाएको भन्दै मुख्यमन्त्री थापाले दुःख व्यक्त गरे
उनले तीन तहका सरकारले कुन–कुन काम गर्ने भन्ने स्पष्ट रूपमा विभाजन गर्न आवश्यक रहेको बताए । प्रभावित क्षेत्रमा राहत पठाउन कठिनाइ भइरहेको र पठाइएको राहतसमेत बट्टार क्षेत्रमा जम्मा भएर त्यसभन्दा माथिका प्रभावित स्थानमा पुर्याउन समस्या भइरहेको उनले जानकारी दिए ।
जलवायु परिवर्तनको प्रभाव दीर्घकालीन बन्दै गएकाले खोला तथा नदी किनारका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तीनै तहका सरकारले तत्काल समन्वय गरेर काम गर्नुपर्नेमा पनि मुख्यमन्त्री थापाले जोड दिए ।
भेटमा रास्वपा सभापति लामिछानेले विपद्को समयमा स्थानीय र संघीय सरकारबीच समन्वय तथा सहजीकरण गर्ने भूमिका प्रदेश सरकारले प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताए ।
‘यतिबेला सबै सरकारले समन्वय गरेर काम गर्नुपर्छ भन्ने कुरामा हामी सचेत छौँ,’ उनले भने ।
लामिछानेले संघीय सरकारका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउन आफूले समन्वय गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

