काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपद् व्यवस्थापन, पुनर्निर्माण, जलवायु अनुकूलन तथा जोखिम न्यूनीकरणका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनको पहल थालेको छ।
यसै विषयमा रास्वपाले आज दिउँसो २ बजे सिंहदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा सर्वदलीय छलफल आयोजना गरेको छ। पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार छलफलमा सहभागी हुन विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई आमन्त्रण गरिएको छ।
रास्वपाका अनुसार गत १० भदौमा रसुवामा आएको अप्रत्याशित तथा विनाशकारी बाढीपछि बसेको सर्वदलीय बैठकले नेपालमा विपद्को दिगो समाधान र पूर्वतयारीका विषयमा १० बुँदे साझा सङ्कल्प पारित गरेको थियो।
swastik college
WorldLink
उक्त सङ्कल्पको १०औँ बुँदामा विपद् व्यवस्थापन, पुनर्निर्माण र जोखिम न्यूनीकरणका कामलाई तत्कालीन राहत तथा प्रतिक्रियामा मात्र सीमित नगरी दिगो र दीर्घकालीन समाधानतर्फ अघि बढाउनुपर्ने उल्लेख गरिएको थियो।
सोही सहमतिअनुसार विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार तथा सरकारका कामकारबाहीमा निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न ‘संसदीय समिति’ वा उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने प्रक्रिया अघि बढाउन लागिएको रास्वपाले जनाएको छ।
रास्वपाले उक्त संयन्त्रलाई विपद् व्यवस्थापनसम्बन्धी दीर्घकालीन नीति निर्माण, जोखिम न्यूनीकरण तथा सरकारका कार्यक्रमको प्रभावकारी अनुगमनका लागि साझा राजनीतिक पहलका रूपमा अघि बढाउने जनाएको छ।