मकवानपुर– धादिङको कृष्णभीरमा त्रिशूली नदीले सडक कटान गरी पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यास तथा पेट्रोलियम पदार्थको सम्भावित अभावलाई रोक्न सरकार र व्यवसायीबिच नयाँ सहमति भएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको अध्यक्षतामा बसेको सरोकारवाला निकायसहितको बैठकले ग्यास ढुवानीका लागि वैकल्पिक सडक प्रयोग गर्ने र सोको भाडादरसमेत निर्धारण गरेको छ।
वैकल्पिक रुट ‘वान-वे’ र स्कर्टिङको व्यवस्था
सहमतिअनुसार ग्यास बोक्ने गाडीहरूको आवतजावतलाई व्यवस्थित र सुरक्षित बनाउन एकतर्फी (वान-वे) रुट तय गरिएको छ। काठमाडौँबाट हेटौँडा आउँदा खाली सिलिन्डर बोकेका गाडीहरू त्रिभुवन राजपथ हुँदै आउनेछन्।हेटौँडाबाट काठमाडौँ जाँदा ग्यास भरेका गाडीहरू कान्ति लोकपथ (कान्ति राजपथ) प्रयोग गरी काठमाडौँ फर्किनेछन्।
त्रिभुवन राजपथमा पहिरो गइहालेमा सडक विभागले तत्काल पन्छाएर बाटो खुलाउने प्रतिबद्धता जनाएको छ भने ग्यासका ट्रक तथा बुलेटहरूलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन प्रहरीले स्कर्टिङको व्यवस्था मिलाउनेछ।
भाडादर र आपूर्ति व्यवस्थापन
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार हेटौँडाको सहारा ग्यासलाई ‘बेस-प्वाइन्ट’ मानेर भाडादर तय गरिएको छ।
काठमाडौँबाट खाली सिलिन्डर ल्याई भरेर पुनः काठमाडौँ पुर्याउँदा प्रतिट्रक (१५ टन लोड क्षमता) भ्याटबाहेक ८० हजार रुपैयाँ तोकिएको छ।
अन्य उद्योग वा जिल्लाबाट ढुवानी गर्नुपरेमा यही ८० हजार रुपैयाँलाई आधार मानेर किलोमिटरका हिसाबले भाडा थपघट गरिनेछ।
ट्रक व्यवसायीहरूले ग्यास ढुवानीका लागि तत्काल १ सय ५० देखि २ सय वटासम्म गाडी उपलब्ध गराउन सक्ने बताएका छन्। काठमाडौँबाट नेपाल ग्यास र एभरेस्ट ग्यासका खाली सिलिन्डर बोकेका गाडीहरू हेटौँडातर्फ आउन थालिसकेका छन्।
उक्त बैठकमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख (एसपी), ट्राफिक प्रहरी, सडक विभागका प्रमुख, नेपाल आयल निगमका प्रतिनिधि तथा ट्रक व्यवसायी संघका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
राजमार्ग कटानपछि सिर्जित संकट टार्न गरिएको यो तत्परताले काठमाडौँ उपत्यकामा ग्यासको सहज आपूर्ति कायम रहने विश्वास लिइएको छ।

