काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद्का समयमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन राज्य र वर्तमान सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्ने बताएका छन् ।
चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको निजामती सम्मान कार्यक्रममा बोल्दै प्रचण्डले बाढी आएको लामो समयपछि भए पनि नागरिकको सकुशल उद्धार हुनु सन्तोषजनक रहेको बताए। तर, उद्धार कार्य समयमै थप घनीभूत गर्न सकेको भए अझ धेरै नागरिकको ज्यान बचाउन सकिने अवस्था रहेको उनको भनाइ थियो ।
आगामी दिनमा विपद् व्यवस्थापन, उद्धार तथा राहतका काममा राज्यका सबै संयन्त्रलाई थप प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा प्रचण्डले जोड दिए । उनले विपद्को घडीमा कर्मचारी तथा सुरक्षाकर्मीलाई त्रास, भय वा दबाब सिर्जना गरेर काम गराउनेभन्दा उनीहरूलाई उत्प्रेरित गर्दै जिम्मेवारीपूर्वक काममा खटाउनुपर्ने बताए।
प्रचण्डले असल नेतृत्व, समर्पण, स्पष्ट नीति तथा योजनाको सही कार्यान्वयनमार्फत कर्मचारीको मनोबल उच्च राख्न सकिने धारणा राखे। त्रास देखाएर नभई प्रेरणा र जिम्मेवारीबोधका साथ कर्मचारीलाई परिचालन गरे मात्रै विपद्का समयमा प्रभावकारी परिणाम हासिल गर्न सकिने उनको भनाइ थियो ।
उनले पछिल्लो समय देशको राजनीति, कर्मचारी संयन्त्र तथा राज्यका सम्पूर्ण निकायमा अन्योल, अनिश्चय र अस्थिरताको अवस्था देखिएको बताए ।
सरकारलाई सुरुदेखि नै ‘राम्रो काम गरे समर्थन र सहयोग तथा नराम्रो काम गरे विरोध र आलोचना’ गर्ने नीति आफूहरूले लिएको भए पनि सरकारका पछिल्ला गतिविधि र लक्षण सकारात्मक नदेखिएको प्रचण्डले टिप्पणी गरे।
उनले लामो राजनीतिक संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र, राष्ट्रिय स्वाधीनता तथा भौगोलिक अखण्डताको रक्षाका लागि राजनीतिक नेतृत्व, कर्मचारी, नागरिक समाज र आम नागरिक सबै सचेत र जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याए ।
विपद् व्यवस्थापनदेखि राज्य सञ्चालनसम्मका विषयमा जिम्मेवार र प्रभावकारी नेतृत्व आवश्यक रहेको भन्दै प्रचण्डले राज्यका सबै निकायले जनताको सुरक्षा र हितलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए।

