काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज जनकपुर बोल्ट्सका मालिक भनिएका उत्सव सिग्देलले आफू सबै भूमिकाबाट अलग भएको सार्वजनिक घोषणा आज गरे ।
तर उनी करिब दुई महिनाअगाडि नै जनकपुर बोल्ट्सबाट बाहिरिएका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष तथा एनपीएलको गभर्निङ काउन्सीलका सदस्य पदम खड्काले जनकपुर बोल्ट्सले दुई महिना अगाडि यसबारे औपचारिक जानकारी गराएको बताए ।
उनले भने, ‘यो विषय क्यान र गभर्निङ काउन्सिलको जानकारीमा छ । त्यहाँ नयाँ सेयर होल्डर आउनुभएको होइन । उत्सवजीले छोडेको सेयर पहिलेकै ओनरहरुबीच बाँडफाँड गरिएको हो ।’
जनकपुर बोल्ट्स निकट स्रोतका अनुसार उत्सवको आफ्नै नाममा सेयर थिएन । उनी अमेरिकी नागरिक भइसकेको हुँदा ‘सेयर होल्डर’ बन्न नसकेका हुन् ।
उनले खरिद गरेको सेयर आफ्नो बुवाको नाममा राखेका थिए । फ्रेन्चाइजको व्यवस्थापन भने उनले सम्हाल्दै आएका थिए ।
सो फ्रेन्चाइजमा उत्सवसहित तीनजना सेयर होल्डर थिए । अहिले बाँकी दुईजनाले उत्सवको बुवाको नाममा रहेको सेयर (करिब ३५ प्रतिशत आसपास) खरिद गरेका छन् । उनीहरुमध्ये एकजना अमेरिकी नागरिक नै भएको बताइएको छ । निजले पनि बुवारआमाकै नाममा सेयर राखेका छन् । अर्का भने नेपाली नागरिक हुन् ।
एनपीएल फ्रेन्चाइजीको स्वामित्व परिवर्तन गर्नुपर्दा अवस्थामा क्यानसँग पूर्वस्वीकृति लिनुपर्ने हुन्छ । क्यानले पनि आइसीसीलाई जानकारी गराउनुपर्छ । तर साविककै मालिकबीच सेयर खरिदबिक्री हुँदा त्यस्तो जटिलता छैन । क्यानलाई जानकारी गराए पुग्छ ।
एनपीएल फ्रेन्चाइजमा सेयर खरिदबिक्री भएको सम्भवत पहिलोपटक हो । एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेबाट सुरु हुँदैछ ।

