काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा तीन दशकभन्दा बढी समय बिताइसकेका चरीत्र अभिनेता राजीव महर्जन ‘टार्जन’ हिजो दिनभरि भारतीय अभिनेता सोनु सुदसँग राहत वितरण कार्यक्रममा सक्रिय भए ।
कहिले नुवाकोटको बट्टार पुगे त कहिले रसुवाको टिमुरे पुगे । बाढीपीडितहरुलाई अत्यावश्यक सामाग्री वितरण गरे, पीडितहरुका कुराहरु सुने ।
टार्जन नेपाली चलचित्र प्रेमीमाझ भिलेनको रुपमा परिचित छन् भने सोनु हिन्दी फिल्ममा ।
टार्जनका अनुसार सोनु सहितको उनीहरुको टिम नुवाकोटसम्म गाडीमा गयो । तर, त्यहाँबाट सडक पूर्ण रुपमा बिग्रिएको थियो । गाडी लिएर आवतजावत गर्ने सम्भावना थिए । पुलहरु पनि बाढीले बगाएका थिए ।
‘त्यसपछि हामीलाई विनोद चौधरीको छोरा निर्वाण चौधरीले हेलिकप्टर एरेन्ज गरिदिनुभयो । हामी त्रिशुली बजारबाट हेलिकप्टरमा टिमुरे पुग्यौं,’ टार्जनले सुनाए ।
टार्जन र सोनुको टिम बिहान पाँच बजे काठमाडौंबाट हिँडेको थियो । बाढीपीडितको ठाउँमा पुगेर राहत वितरण लगायतको काम गरेर काठमाडौं फर्कँदा दिउँसोको साढे दुई जति बजिसकेको थियो ।
सोनुबारे टार्जनले भने, ‘यहाँ आएर राहत वितरण गरे, बाढी पीडितलाई घर बनाइदिन्छु भनेका छन् । विदेशको कलाकारले नेपालको लागि यस्तो गरेर हाम्रो पीडामा साथ दिनु धेरै ठूलो कुरा हो ।’
टार्जन र सोनुको चिनजान भने निकै पुरानो हो । सन् २०१६ मा प्रदर्शनमा आएको चलचित्र ‘टुटक टुटक टुटिया’मा राकेशले पनि फाइट सिनको साथै सानो पात्रको भूमिका पनि निर्वाह गरेका थिए । यस फिल्ममा सोनु सुद, प्रभु देवा र तमन्ना भाटिया प्रमुख भूमिकामा थिए ।
यसपछि सोनुसँग टार्जनले ‘कुङ फु योगा’मा सोनु सुद, ज्याकी च्याङ जस्ता हलिउड स्टारहरुसँग काम गर्ने अवसर पाए । भूमिका सानो भए पनि राकेशले ठूलो अनुभव र संस्मरण बटुले ।
अहिलेसम्म टार्जनले २४ वटा हिन्दी चलचित्रहरुमा काम गरिसकेका छन् । अब आउँदो नोभेम्बरपछि सोनु सुदकै नयाँ चलचित्र ‘नन्दी’मा पनि टार्जनले सोनुसँग सहकार्य गर्दैछन् ।

