काठमाडौँ । सामाजिक सहिष्णुतामा आघात पुर्याउने अभिव्यक्तिसहितको भिडियो सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौँको चन्द्रागिरी नगरपालिका–१२, बलम्बु बस्ने बैतडीको सुर्नया गाउँपालिका–७ घर भएका २४ वर्षीय वीरेन्द्र मडै रहेका छन्। उनलाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको हो।
मडैले भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिसम्बन्धी विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने तथा अपमानित गर्ने अभिव्यक्ति रहेको भिडियो बनाएका थिए। उनले विपत्तिमा खुसी व्यक्त गर्ने आशयको उक्त भिडियो सामाजिक सञ्जाल फेसबुकको रिल्समा प्रसारण गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मडै यस्ता गतिविधिमा संलग्न व्यक्तिमध्ये एक प्रतिनिधि पात्र मात्र हुन्। पछिल्लो समय सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह तथा भ्रामक समाचार प्रसारण गर्ने, विपद्का कारण पीडामा रहेका व्यक्तिका अभिव्यक्तिमाथि अनावश्यक टिप्पणी गर्दै थप पीडा दिने तथा सामाजिक सहिष्णुतामा आघात पुर्याउने गतिविधि बढ्दै गएको भन्दै प्रहरीले निगरानी र कारबाहीलाई तीव्र बनाएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिको दुःखद् घडीमा सामाजिक सञ्जालमार्फत थप पीडा दिने र त्रास फैलाउने गतिविधिप्रति प्रहरी सचेत रहेको बताए ।
उनले भने, “बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिको यस दुःखद् घडीमा विभिन्न व्यक्ति, समूह तथा अराजक मानसिकता भएका व्यक्तिहरूले हृदयविदारक तथा विभत्स तस्बिर र भिडियो सामाजिक सञ्जालमा पोस्ट गरी जनमानसमा पीडामाथि थप पीडा हुने गरी त्रास फैलाउने एवम् सामाजिक सहिष्णुतामा आघात पुर्याउने गतिविधि नियन्त्रण गर्न प्रहरी थप सचेत भई निरन्तर रूपमा कार्य गरिरहेको छ।”
पछिल्लो तथ्याङ्कअनुसार फेसबुकमा १६८ वटा, टिकटकमा चार वटा र इन्स्टाग्राममा एउटा गरी कुल १७३ वटा गलत सूचना तथा अफवाहसहितका सामग्री प्रसारण भएको पाइएको छ। तीमध्ये साइबर सक्रियतामार्फत फेसबुकका ७९ वटा र टिकटकका चार वटा गरी ८३ वटा सामग्री सामाजिक सञ्जालबाट हटाइएको प्रहरीले जनाएको छ।
यस्ता गतिविधिको निगरानी गरी सामग्री तत्काल हटाउन तथा नियन्त्रण गर्न साइबर ब्यूरोका प्रहरी नायब उपरीक्षक गजेन्द्र आचार्यको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको छ। समितिले सामाजिक सहिष्णुतामा आघात पुर्याउने गतिविधिमा संलग्न व्यक्तिको पहिचान तथा अनुसन्धान गरी सम्बन्धित प्रहरी कार्यालय र सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै कानुनी कारबाही गर्नेछ।
समितिका संयोजक प्रहरी नायब उपरीक्षक आचार्यले सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह तथा भ्रामक सामग्री प्रसारण गर्नेलाई कानुनी दायरामा ल्याउन समिति थप सक्रिय रहेको बताए ।
उनका अनुसार अनजानमा गलत सामग्री पोस्ट वा सेयर गरेका व्यक्तिलाई सामग्रीको गम्भीरता हेरी सचेत गराउने र हटाउन लगाउने गरिएको छ।
विपद्को नाममा हुन सक्ने अन्य अपराध तथा राहत संकलनका नाममा हुन सक्ने ठगी नियन्त्रणमा पनि नेपाल प्रहरी सक्रिय रहेको जनाएको छ।
प्रहरीले सामाजिक सञ्जालमार्फत प्रवाह हुने गलत सूचना, अफवाह तथा भ्रामक सामग्रीको निगरानीलाई थप तीव्र बनाउँदै सामाजिक सहिष्णुतामा आघात पुर्याउने गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउने जनाएको छ।

