काठमाडौं । बालेन सरकारका ८ जना मन्त्रीहरू सहभागी भएर हिजो आयोजना गरिएको जेनजी दिवसको कार्यक्रम विवादमा परेको छ । उक्त कार्यक्रमको ढाँचा, अतिथिहरू र गृहमन्त्री सुधन गुरुङको अभिव्यक्तिले विवाद निम्तिएको हो ।
सत्तारुढ रास्वपकै ‘कोर क्याम्प’ भित्र यो कार्यक्रमको आयोजनालाई लिएर असन्तुष्टि देखापरेको छ । नेताहरूले सामाजिक सञ्जालमार्फत सोझो/घुमाउरो ढंगले कार्यक्रममाथि प्रश्न उठाएका छन् । साथै गृहमन्त्री गुरुङको भाषणलाई लिएर पनि उनीहरूले लाक्षणिक टिप्पणी गरेका छन् ।
पार्टी सभापति रवि लामिछानेका विश्वासपात्र मानिने संगठन विभाग प्रमुख प्रमोद न्यौपानेले लेखेको स्टाटस चर्चामा छ । हिजो साँझ उनले फेसबुकमा लेखेका छन्:
श्रव्य- कर्कस
दृश्य- बिझाउने
‘बदल्छौं’ भन्नेहरू नै बदलिँदै त छैनौँ ?
उनको यो स्टाटस हिजो गृहमन्त्री गुरुङले गरेको भाषणमा लक्ष्यित हो । यस्तै रास्वपा संस्थापक समूहकै नेतृ तथा संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालले पनि परोक्षरूपमा गृहमन्त्रीमाथि प्रश्न उठाएकी छन् ।
गृहमन्त्री गुरुङले पुराना दललाई ‘सुध्रिन’ चेतावनी दिएको तर्फ ईंगित गर्दै उनी लेख्छिन्- सुध्रिनु अरुले मात्रै पर्ने । हामीले चाहिँ सुध्रिनु नपर्ने ? यही दिन देख्नलाई थियो महान शहीदहरुको बलिदान ?
धितालले पोहोर साल आफूहरूले नै प्रेस स्वतन्त्र होस्, सत्ता निरंकुश नबनोस्, जसको जुन स्थान हो, ऊ त्यही स्थानमा बसोस् भनेर सडकमा उत्रिएको स्मरण गरेकी छन् ।
‘हामीले राज्यलाई प्रश्न गरेका थियौँ, सत्तालाई विनम्र हुन भनेका थियौँ,’ उनी लेख्छिन्, ‘अहिले हामीमाथि प्रश्न गर्नेहरुलाई किन हामी धम्की र चेतावनीको भाषा बोल्दै छौं ? के आज हामी अभिव्यक्ति स्वतन्त्रतालाई बल पुग्ने काम गर्दैछौं ? कि हामी बाँकी अधिकारको पनि तेजोबध गर्न उद्धत छौँ ?’
त्यसो त रास्वपाका महामन्त्री विपीन आचार्यको समेत गृहमन्त्रीप्रति लाक्षणिक अभिव्यक्ति आएको छ । उनले फेसबुकमा लेखेका छन्, ‘अहङ्कारः विनाशस्य मूलम् । अर्थात्, अहङ्कार नै विनाशको मूल कारण हो ।’
सभापति लामिछाने निकट मात्रै नभएर बालेन निकटमा पनि गृहमन्त्रीप्रति असन्तोष देखा परेको छ । बालेनका विश्वासपात्र सांसद राजु पाण्डेले पनि सामाजिक सञ्जालमा लाक्ष्यणिक स्टाटसमार्फत असन्तुष्टि पोखेका छन् ।
उनले हिजो लेखेका छन्, ‘जिम्मेवारीमा पुगिसकेकाले .. जिम्मेवारी खोसिएकालाई गाली गर्नु लाजास्पद हो !’
के भनेका थिए गृहमन्त्रीले ?
गृहमन्त्री गुरुङले हिजोको कार्यक्रममा पुराना दलहरुलाई ‘सुध्रिन’ चेतावनी दिएका थिए । आफूहरू राजनीति सिक्न नभएर सिकाउन आएको उनको अभिव्यक्ति थियो ।
उनले भनेका थिए, ‘पुराना दलका केही साथीहरूले हाम्रो आन्दोलनलाई विभिन्न तरिकाले व्याख्या गरेको देख्दा अचम्म लाग्छ । म उहाँहरू सबैलाई भन्न चाहन्छु । त्यो दिन इतिहास हो । इतिहास कसैले फेरेर फेरिँदैन । इतिहास फेर्ने कोशिस नगर्नुस । त्यो इतिहास थियो भन्ने सावित गर्नलाई तीन करोड नेपाली जनताले हामीलाई जिताएर पठाएको हो । यो आन्दोलनलाई अपमान गर्नु भनेको तीन करोड जताको अपमान हो, यो पनि स्मरण रहोस । त्यही भएर तपाईंहरुला सुध्रिनुस भन्न चाहन्छु । अझै पनि समय छ । सुध्रिनुस् ।’
उनले जेनजीको माग पूरा हुनबाट कसैले रोक्न नसक्ने बताए ।
गुरुङले भने, ‘सबै जेनजी पुस्तालाई के भन्न चाहन्छु भने हाम्रो माग पुरा नहुन देशमा अब अर्को एउटा गोली चल्नुपर्छ, त्यो गोली मेरो शिरबाट मात्र हुन्छ । तपाईंको यो मन्त्री, यो दाई, भाइ, छोरा एउटै कुराले ढल्न सक्छ, त्यो कुरा हो, अर्को एउटा गोली । अर्को एउटा गोलीले मात्रै मलाई ढाल्न सक्छ । तर अर्को गोली चलाउन यो देशमा कसैको हिम्मत छैन । कसैले चलाउन हिम्मत गर्न सक्दैन ।’
‘हामीलाई विभिन्न लान्छना लगाउनुहुन्छ । कसैले हाम्रो भाषण मिलेन भन्छ । कसैले लुगा मिलेन भन्छ । योभन्दा बढी ह्यान्डसम हामी देखिन सक्दैनौँ, सरी । यो हाम्रो जेनेरेसन हो ।’
‘वि आर हियर टु टिच पोलिटिक्स । हामी राजनीति सिक्न आएको होइन सिकाउन आएको हो । तपाईंको राजनीतिले जनतालाई राज गर्न सिकायो, हामी सेवा गर्न सिकाउँछौं । वि केम हियर टु चेन्ज ट्रेडिसन । टीका लगाएर आएको होइन हामी । चुनाव जितेर, दुई तिहाइको बहुमत ल्याएको सरकार हो, चेतना भया । यु मेस्ड विथ द रङ जेनेरेसन ।’
‘पत्रकार मित्रहरूलाई पनि सन्देश दिन चाहन्छु । तपाईंहरूले धेरै काम गर्नुभएको छ, सम्मान छ । तर ३-४ जना छन् नि । तपाईंहरूको पार्टीसँगै तपाईंहरू पनि सुध्रिनुस् भन्न चाहन्छु ।’

