काठमाडौं । नेकपा एमालेभित्र पार्टी पुनर्गठनको बहस चलिरहेको छ। निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदलमा पुनर्गठनबारे दुई वटा प्रस्ताव पेश भएका छन्।

हिजोको बैठकमा कार्यदलका संयोजक रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलले तयार पारेको बेग्लाबेग्लै प्रतिवेदन पेश भयो। प्रतिवेदनमाथि थप छलफल गर्नको लागि भोलि बैठक बस्ने लागेको उपमहासचिव लेखराज भट्टले बताए।

महासचिव पोखरेलले तयार पारेको प्रतिवेदनमाथि ओलीले असन्तुष्टि जनाउँदै बादललाई पुनर्लेखन गर्न निर्देशन दिएका थिए। सबै प्रदेशबाट प्राप्त सुझावलाई समेटेर यसअघि महासचिव पोखरेलले तयार गरेको प्रतिवेदन ओलीले आफू अनुकूल बनाउनको लागि बादललाई अघि सारेका थिए।

कार्यदलमा शंकर पक्षका सदस्यहरूले पहिलेकै प्रतिवेदनमाथि छलफल गरेर जानुपर्ने पक्षमा छन्। पोखरेल पक्षधर नेताहरू नेतृत्वबाट ओलीले बिदा लिनुपर्ने पक्षमा छन्।

तर बादलको प्रतिवेदन ठिक उल्टो आएको छन्। बादलको प्रतिवेदनमा ओलीले नेतृत्व छाड्नु नपर्ने प्रस्ट लेखिएको छ। यो प्रतिवेदन सचिवालय हुँदै केन्द्रीय समिति बैठकमा पुगेर अन्तिम निर्णय गर्ने तयारी छ। असोजको पहिलो साता केन्द्रीय कमिटी बैठक बस्दै छ।

अहिले पार्टी बैठकमा प्रतिवेदन नभई दुई वटा प्रस्ताव आएको उपमहासचिव भट्टले बताए।उनले भने, ‘राजनीतिक रूपमा बुझ्दा दुई प्रस्ताव आएका हुन्। कार्यदलमा आएको छ। छलफल भएर पास गरिसकेपछि त्यो प्रतिवेदनको रूपमा रूपान्तरण हुन्छ। हाम्रो चलनचल्तीको भाषामा अब सबैले प्रतिवेदन भनिएको हो।’

उनले प्रतिवेदनमाथि थप छलफल भोलिबाट सुरु हुने उनले बताए।उनले भने, ‘भोलिबाट छलफल सुरु हुन्छ। यसअघि कार्यदल सदस्यको हातमा दुवै परेको थिएन।’

‘काउन्टरको रूपमा आएको छैन’

महासचिव पोखरेलको प्रतिवेदनको काउन्टरको रूपमा बादलको प्रतिवेदन नभएका जिकिर गरे।

उनी भन्छन्, ‘काउन्टर भन्दा एक अर्कालाई परिपूरक हुन् भनेर बुझ्नुपर्छ। त्यसलाई अब एकीकृत गर्ने, एउटैमा रूपान्तरण गर्ने काम हुन्छ। त्यो हाम्रो लागि सुझावका रूपमा लिनुपर्छ, दुवैलाई समेटेर मात्रै पूर्णता पाउँछ।’

छलफलपछि कार्यदलले केन्द्रीकृत एउटै प्रतिवेदन पार्टी बैठकमा लैजाने बताए।

‘अब कार्यदलमा छलफल हुन्छ। कुन प्रस्तावको आधारमा कहाँनेर के मिलेको छैन, समानता कहाँ छ, भिन्नता कहाँ छ। त्यो भिन्नतालाई एकरूपतामा कसरी ल्याउन सकिन्छ? भन्ने कुरा अध्ययन गरेर कार्यदलले केन्द्रीकृत गर्छ’ भट्टले भने।

अध्यक्षलाई हटाउने प्रस्ताव नआएको दाबी

उनले अध्यक्ष ओलीलाई नेतृत्वबाट हटाउने प्रस्ताव नआएको दाबी गरे।

‘प्रतिवेदनमा त्यस्तो प्रस्ताव छ भन्छन्, अध्ययन गरेँ त्यहाँ त कहीँ पनि छैन। बाहिर रूपमा कहाँ कसले के गर्छ? त्यस्तो विशेष महाधिवेशन पुनर्गठन वैचारिक रूपमा गर्ने भन्ने मागको कुरा पनि छन्’ भट्टले थपे, ‘प्रतिनिधि परिषद्को बैठक बोलाउने र समीक्षा गर्ने भन्नेबारे पनि छलफल त हुन्छ।’

प्रस्तावबारे कसले कसरी लिने भन्ने बुझाइमा पनि भर पर्ने उनको बुझाइ छ।

उनले थपे, ‘नेतृत्व परिवर्तनको अहिले आवश्यकता छैन। भर्खरै हामीले महाधिवेशन गरेर आयौँ। अब पार्टीभित्र कसका कति कमजोरी भए, मूल नेतृत्वका कमीकमजोरी के रहे? त्यो त छलफलको विषय होला।’

नेतृत्वलाई हटाइहाल्नुपर्छ भन्ने बुझाई हुनु गलत भएको बताए।

उनले थपे, ‘हटाइहाल्नुपर्छ भन्ने ट्रेन्ड पनि ठीक होइन, हटाउन खोज्यो भन्ने ट्रेन्ड पनि ठीक होइन। पार्टीभित्र समस्या आएपछि छलफल हुन्छ। छलफललाई हामीले अर्को अर्थमा बुझ्यौँ भने अनि समस्या पैदा हुन्छन्।’

सचिवालयमा गएपछि मात्रै प्रतिवेदनबारे विधिवत् रूपमा अध्यक्षको धारणा आउने बताए। विधिवत् रूपमा नगएको हुनाले अड्कलबाजी गर्ने कुरो नभएको उनको भनाइ छ।पार्टीभित्रको कुरा बाहिर बोल्नु गलत

संसद् पुनर्स्थापनाको मुद्दालाई अगाडि सार्नेलगायत पार्टीभित्र छलफल भइरहेको विषयलाई बाहिर बोल्नु गलत भएको उनको भनाइ छ।

उनले भने, ‘कसैले पनि पार्टीभित्र बोल्ने कुरा बाहिर बोल्नु गलत हुन्छ। पार्टीमा त छलफल हुन्छ, विभिन्न तर्क–वितर्कहरू राखिन्छन्, राख्नुपर्छ। तर अब त्यसलाई कसले के बोल्यो भन्ने कुरोमा जानु ठीक होइन। त्यो पार्टीको हित हुँदैन।’

पार्टीको विधि–पद्धतिभन्दा बाहिर गएर कसैले पनि बोल्न नहुने उनको तर्क छ।

संसद् पुनर्स्थापना पार्टीको एजेन्डा बन्नेबारे सोधिएको प्रश्नमा भने, ‘एजेन्डाहरू त पार्टीमा विभिन्न आइरहन्छन्, तर्क–वितर्क भइरहन्छन्। कुरा आयो भन्दैमा हुने होइन। पार्टीभित्र कमिटी प्रणालीमा पार्टीको विधि, पद्धति, परम्पराभित्र रहेर छलफल हुनु जरुरी पनि हुन्छ। त्यसले नै पार्टीमा ऊर्जा र गति दिन्छ।’

जे कुरा पनि बाहिर बोलिहाल्ने ट्रेन्ड बन्यो

पार्टीमा जे कुरा पनि सार्वजनिक रूपमा बोलिहाल्ने ट्रेन्ड बनेको टिप्पणी गरे।

उपमहासचिव भट्टले भने, ‘जे कुरा पनि सामाजिक सञ्जाल मिडियामा गइहाल्ने, बोलिहाल्ने ट्रेन्ड बनेको छ। त्यो राम्रो होइन। पार्टीको हितमा पनि छैन। भित्र भएका छलफल कसले के बोल्यो, कसले के भन्यो सार्वजनिक गर्नु राम्रो होइन।’

पार्टी बैठकभित्र बोलेकै कुरा बाहिर लैजाने पार्टी विधिमा नमिल्ने बताए। पार्टीको गोपनीयतालाई भङ्ग गर्न कसैले पनि नमिल्ने बताए।

उनले यी यस्तै विषयमा पार्टीभित्र दुई दुई समूहबीच कित्ताकाटको अवस्था नबनेको दाबी गरे।